Saturday, December 8, 2007

'प्रचण्डबारे भ्रम टुट्यो'

राष्ट्रवादी सात दल मात्रै - कास

भरतपुर, मंसिर २० - प्रचण्डले राजा वरिपरिका राष्ट्रवादीलाई समेट्ने अभिव्यक्ति दिएपछि उनीबारे आफ्नो भ्रम टुटेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

'प्रचण्डलाई राष्ट्रवादी ठानेको थिए“ तर भ्रम पो रहेछ,' बिहीबार भरतपुरमा पत्रकार सम्मेलनमा उनले भने- 'राजावादीलाई राष्ट्रवादीको नजरले हेर्‍यौं भने त्यो गम्भीर भूल हुनेछ ।'

राजावादीहरू सधै“ तानाशाह हुने भएकाले उनीहरू कहिल्यै राष्ट्रवादी नहुने मन्त्री सिटौलाले बताए । उनले भने- 'अहिले मुलुकमा सबैभन्दा ठूला राष्ट्रवादी सात दल नै हुन् ।' मंगलबार प्रचण्डले दिएको अभिव्यक्तिको जवाफमा उनले तानाशाही पक्षपातीले राजालाई प्यारो ठान्ने बताए ।

सिटौलाले सम्मेलनमा संविधानसभा निर्वाचन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाहेक अरूको नेतृत्वमा गर्न नसकिने दाबीसमेत गरे । 'चुनाव गर्न भनेर सरकारको नेतृत्व परिवर्तन गर्ने हो भने त्यो प्रत्युपादक हुन्छ,' उनले भने- 'चुनाव ढिलै भए पनि अहिलेको परिस्थितिमा प्रधानमन्त्री कोइरालाको विकल्प छैन ।'

No comments: