टंक पन्त, (काठमाडौं)।
http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=10&id=2289
निकै जटिल र अन्योलमा रहेको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास अब बल्ल सहमतिनजिक पुगेको र त्यसका लागि मस्यौदासमेत तयार गरिएको जिम्मेवार दलका नेताहरूले बताएका छन्।
मंसिर ६ मा संविधानसभा निर्वाचन हुन नसकेपछि सात दलसमेत असफल भएको राजनीतिक टिप्पणीसँगै चार मधेसी सांसदको राजीनामापछि दलहरू गम्भीर भएका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र जनमोर्चा नेपालले तत्कालै सहमति गर्ने गरी गम्भीर गृहकार्य थालेका छन्।
निरन्तर वार्तामा सहभागी नेताहरूका अनुसार बिहीबारको भेटवार्ता विगतको जस्तो केवल भेटवार्ताका लागि मात्र नभएर अत्यन्तै जिम्मेवारीका साथ सहमति खोज्नतिर केन्द्रित भएको र कुराकानी सहमतिनजिक पुगेको छ।
गणतन्त्रको घोषणा, निर्वाचनप्रणाली, सरकार पुनर्गठन, सेनाको समायोजन, शान्तिसम्झौतालगायत हालसम्म भएका सहमति, समझदारी र निर्णयको समीक्षा एकसाथ प्याकेजमै गर्ने गरी सहमति हुने सम्भावना रहेको बताइएको छ।
बिहीबार अपरा³न नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुराकानी भएको थियो भने त्यसपछि एमाले, कांग्रेस, माओवादी र जनमोर्चाबीच भेटवार्ता भएको थियो। ती भेटघाटपछि पुनः नेपाली कांग्रेस र माओवादीबीच गम्भीर छलफल भयो।
सिंहदरबारस्थित एमाले संसदीय दल र माओवादी संसदीय दलमा दिनभर भएको भेटवार्तापछि साँझ अबेरसम्म पुनः एमाले, माओवादी र जनमोर्चाबीच छलफल भएको थियो।
छलफलले सहमतिको मस्यौदा पनि तयार गरेको छ। सो मस्यौदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि दिइसकिएको छ।
प्रस्तावित खाकाबारे आज शुक्रबार सातै दलका शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल गरी सहमति हुने सम्भावना भएमा आज शुक्रबारै सात दलको बैठक बसी टुंगो लगाउने योजनासमेत रहेको एक नेताले बताएका छन्।
माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ँबादल’, कृष्णबहादुर महरा, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, अमृत बोहरा, झलनाथ खनाल, भरतमोहन अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, चक्र बास्तोला, विमलेन्द्र निधि, जनमोर्चाका प्रकाश, अमिक शेरचन र लीलामणि पोखरेल भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।
संसद्बाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकपछि लागू गर्ने, निर्वाचनप्रणालीमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष, सरकारको पुनर्गठन, आगामी सरकार पूर्णतः संयुक्त सरकारको मान्यतामा चलाउने एवम् संविधानसभाको निर्वाचन २०६४ सालभित्रै गर्ने गरी सहमतिको नजिक पुगेको तर माओवादीले सेनाको समायोजन भएमा उल्लिखित ती विषयलाई स्वीकार गर्ने धारणा राखेको बताइएको छ।
माओवादीले आगामी सरकारमा उपप्रधानमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने र समानुपातिकलाई ८० प्रतिशत गराई प्रत्यक्षलाई २० प्रतिशत बनाउने प्रस्ताव गरेको बताइएको छ।
संविधानसभा निर्वाचनको तिथिका बारेमा भने छलफल भइरहेको भए पनि सहमतिमा पुग्न बाँकी रहेको छ। स्मरणीय छ, नेकपा (एमाले) ले चैत ५ गतेका लागि प्रस्ताव राखिसकेको छ।
निर्वाचनप्रणालीका विषयमा समानुपातिक ६० र प्रत्यक्ष ४० गराउने कुरामा कांग्रेस र एमालेको एकैमत बनेको बताइएको छ।
दलहरूबीच भएको छलफल र त्यसले तयार पारेको मस्यौदाका बारेमा प्रधानमन्त्री कोइराला र नेपाली कांग्रेसका केही नेताहरूबीच बिहीबार साँझ छलफल भएको थियो।
त्यसै गरी वर्तमान परिस्थिति र चार मधेसी सांसदले राजीनामा दिएको विषयमा बिहान प्रधानमन्त्री कोइरालाले आफ्ना पार्टीका २० जिल्लाका सांसदहरूसँग छलफल गर्नुभएको थियो।
Friday, December 14, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment